पूर्व कप्तान सन्दीप लामिछानेको नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको जानकारी दिएको हो ।

लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । बुधबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।
क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको बताए । सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनको भनाइ छ । क्यानले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछानेसहित २० सदस्यीय टिम घोषणा गरेको छ । जसमा प्रतिश जिसी पनि अटाएका छन् ।
२० सदस्यीय टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भिम शार्की, कमल सिंह ऐरी किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी,अर्जुन साउद र प्रतिश जिसी रहेका छन् ।
नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्