राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो ।

जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो भने नेदरल्यान्ड्सको दोस्रो जित । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै एक सय ४० रन बनायो ।
नेदरल्यान्ड्सका लागि कप्तान डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् भने हेथर सेगर्सले २३ बलमा तीन चौका र एक छक्कासहित २६ रन जोडिन् ।
त्यस्तै ओपनर फेबे मोल्केनबोए र रोविन रिकेले समान २१-२१ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाको लागि स्पीनर सीता रानामगरले पांच विकेट लिइन् भने मनिषा उपाध्यायले दुई विकेट लिँदा कविता जोशी र कप्तान इन्दु वर्माको भागमा समान एक-एक विकेट रह्यो ।
नेदरल्यान्ड्सले दिएको एक सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २५ रनमात्र बनाउन सक्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित ३० रन बनाइन् भने सम्झना खड्काले २३ रन जोडिन् । यस्तै पुजा महतो १८ रन बनाई आउट भइन् भने कविता जोशीले १४ रन जोड्दा सित राना मगर १० रनमा अविजित रहिन्।
नेदरल्यान्ड्सको लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई-दुई विकेट लिए भने इभा लिन्च र इसाबेला भान डेर वनिङको भागमा समान एक-एक विकेट रह्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले र थाइल्याण्डसँग चार विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्