जन सरोकार

सबैका लागि प्रेरणा बनेका फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्नु हुन्न । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गनुहुन्थ्यो । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए ।



सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बने । छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन । छोराको हाडजोर्नीमा समस्या छ । चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन । सधँै काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।

चक्रबहादुरले भने हिम्मत हार्नुभएन । तरकारी फलाएर पैसा कमाउने सोच बनाउनुभयो । तरकारी खेतीतिर लाग्नुभयो । सोचलाई शक्तिमा बदल्नुभयो । फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिनु भएको छ ।

खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ । ‘‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क पर्छन् । मैले एउटै बोट काउलीमा पाँचदेखि सात किलोसम्मको उत्पादन गरेको छु’’, उहाँ भन्नुहुन्छ । उहाँको बारीमा आजभोलि गोलभेंडाको एउटै बोटमा लटरम्म दाना फलेका छन् । गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उहाँको भनाइ छ । गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ ।

गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उहाँले बताउनुभयो । उहाँका बुबा कृषि कार्यालयमासहयोगी हुनुहुन्थ्यो । “बुबाकै प्रेरणा गर्दा आज म गाउँकै अगुवा कृषक भएको छु”, खत्रीले भन्नुभयो ।

मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पाल्नु भएको छ । उहाँको १२ जनाको परिवार यही तरकारी खेतीबाट पालिएको छ । उहाँ भन्नुहुन्छ, “मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु । परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु ।”

खत्रीले चार रोपनीमा तरकारी खेती गर्नुभएको छ् । उहाँले बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाउनु भएको छ् । तरकारीले बारीका गह्रा हराभरा देखिएका छन् । दैलेख क्षेत्र–२ जाने मूलबाटोमै उहाँको तरकारीखेती भएकाले अधिकाँश हिँडडुल गर्ने बटुवालेसमेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताउनुभयो ।

तीनै फरक क्षमताका कृषक खत्री अधिकांश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्नुहुन्छ । स्वदेशमा पसिना बगाए सुन फल्ने उहाँको भनाइ छ । स्वदेशमा पैसा छैन भनेर विदेशमा भौंतारिने युवा अल्छी भएर विदेशिएको बताउनुहुन्छ ।

विदेशमा काम नगरेर धेरै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा ऋण काढेर खाडी मुलुक जाने गर्छन् । उहाँ भन्नुहुन्छ, ‘‘त्यहाँ गएपछि काम गर्नुपर्दो रहेछ भनेर थाहा पाएर आउँछन् । अनि स्वदेशमै काम गर्न थाल्छन् । पहिलेदेखि आफ्नै माटोलाई गोडमेल गरेको भए विदेशमा जानु पर्दैनथ्यो ।’’

खत्रीले १५ वर्षअघि कृषि कार्यालयबाट लिएको रु ४० हजारको अनुदानबाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट सहयोग लिनु भएको छैन । गत वर्ष वडा कार्यालयले पोलिहाउस बनाउन दिएको प्लास्टिक एक पटकको तरकारी उत्पादन नहुँदै च्यातियो । उहाँ उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘घरमै आएर लैजान्छन् ।’’ वडा कार्यालयले बेलैमा बिउबिजन र बेलाबेलामा कृषि प्राविधिक पठाइदिए तरकारीखेतीमा कुनै रोग लागेमा समयमै उपचार गर्न सकिने उहाँको भनाइ छ ।

सम्बन्धित खबर

Back to top button