जन सरोकारजल/वातावरण

सिमसार संरक्षण र भावी पुस्ताको जीवनरक्षा

विश्वमा सिमसार क्षेत्रको महत्व प्रकट भएर औपचारिक रुपमा यसको संरक्षणका लागि दिवस नै मनाउन थालिएको साँढे चार दशक बितिसकेको छ । तर विश्वमा वातावरणीय दुष्प्रभावहरु कम हुनुको साटो अरु बढी जटिल हुँदै गैरहेका छन् । हरेक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाइन्छ र संरक्षणका गगनभेदी नारा भन्किएर अनेक विज्ञप्ति, सूचना, जानकारीमूलक सन्देशहरु प्रवाह हुन्छन्, तर नीति निर्माता, कार्यान्वयनकर्ता, योजनाविद, वातावरणविद्हरु– जो ओहोदामा छन्– उनीहरु यसैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्दछन् ।

वास्तवमा सिमसार भनेको त्यस्तो क्षेत्र हो जसले जनताको जीवनयापनसंग प्रत्यक्ष सरोकार राख्दछ र जैविक विविधता तथा पर्यावरणीय र ऋतु चक्रलाई समेत कायम राख्दछ । बाह्रैमास पानी उम्रिइरहने, विविध जलचर, थलचरको बसोबास र आगन्तुक पक्षीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ पनि हो । यसको संरक्षणको महत्व जनताको दैनिक जीवनयापनसंग समेत जोडिएको छ । त्यसैले नेपाली परम्परामा सिम क्षेत्रमा नाग देवताको बास हुन्छ भनेर पूजा गर्ने संस्कार बस्यो । जहाँ देवताको बास हुन्छ त्यहाँ फोहरमैला गर्नु हुँदैन मात्र हैन त्यहाँ रहेका चराचुरुङ्गी तथा सरिसृप मार्न हुँदैन, नाग लाग्छ भनेर धार्मिक आडमा संरक्षण गरियो । अहिले पनि त्यो परम्परा जारी नै छ । तर, भूमाफियाहरु शक्तिको आडमा सिमसार क्षेत्र मास्न उद्यत छन् ।

राजधानीमा मात्र होइन देशका प्रमुख जिल्लाहरूमा घडेरी विकासको नाममा सिमसार क्षेत्र समेत मासिएका छन् । ठूला ठूला पोखरी मात्र सिमसार क्षेत्र होइन । जहाँ चौबीसै घण्टा पानी उम्रिरहन्छ, जहाँको माटो चिसो छ त्यो हो खासमा सिमसार क्षेत्र । दुर्लभ चराचुरुङ्गी तथा घस्रने प्राणीको प्रमुख बासस्थान रहेको सिमसार क्षेत्र आफैंमा आय आर्जनको स्रोत पनि हो । यहाँ पाइने माछाको व्यवसायबाट कृषकहरूले मनग्गे आम्दानी गर्न सक्छन् । त्यसै गरी यसको संरक्षणले वातावरण शुद्ध हुने र मौसमलाई समेत अनुकल बनाइराख्छ । चाहिएको बेलामा अर्थात् मौसम अनुसार पानी पर्नका लागि पनि सिमसार क्षेत्र आवश्यक छ । पोखरामा धेरै पानी पर्नुको कारण त्यहाँ रहेका थुप्रै तालहरूको भूमिका महत्वपूर्ण छ ।

जनताका लागि सिमसार क्षेत्र खाद्य सुरक्षा कवचको रुपमा समेत चिनिन्छ । सिमसार क्षेत्रले घेरिएका खेतीयोग्य जमिनहरूमा जंगली जनावरको प्रवेश कम हुने र बाली मासिने सम्भावना कम हुन्छ । अर्कोतिर यहाँ हुने चराचुरुङ्गी तथा सर्पहरूले बालीनालीको नोक्सामन गर्ने मुसा, किरा लगायतलाई मास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । यस अर्थमा सिमसार क्षेत्र कृषिमा आश्रित नेपाली समाजको एउटा बलियो सुरक्षा आधार पनि हो ।

सिमसार संरक्षण जलवायु परिवर्तनको मारबाट बच्ने एउटा अचुक उपाय हो । नेपालमा रहेका ५ हजारभन्दा बढी तालतलैको मात्र कुरा होइन, तराईदेखि हिमाली क्षेत्रसम्म रहेका सिमक्षेत्रको पनि संरक्षण हुनुपर्छ । आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् । राजधानी उपत्यकाभित्र रहेका अनगिन्ती सिमक्षेत्रमा डोजर कुदिरहेका छन् । यस्तो प्रवृत्ति रोक्न सक्नुपर्छ । राजधानी उपत्यका सिंगो सिमसार क्षेत्रको रुपमा थियो । तर अहिले यहाँ पानीको हाहाकार छ । जैविक विविधता नष्ट भएको छ । राजधानीबासीलाई मात्र होइन सिंगो मुलुकलाई भात खान पुग्ने धान फल्ने राजधानी उपत्यकामा देशैभरिका बासिन्दालाई डेरा उपलब्ध गराउने घर मात्र फलिरहेका छन् । यहाँको जमिनलाई चारैतिरबाट घेरेका बाग्मती, विष्णुमति, रुद्रमति, मनोहरा, विष्णुमति लगायतका नदीमहरू अतिक्रमणको शिकार भएका छन् । यस्तो अवस्थामा सिमसार क्षेत्रको संरक्षण गर्ने नीतिगत भाषणले कुनै उपलब्धि दिंदैन ।

सिमसार क्षेत्र संरक्षणको हाम्रो आफ्नै मौलिक प्रविधि र संस्कार छ । त्यसको व्यापक पालना गराइनु पर्दछ । माथि नै उल्लेख गरिसकियो कि गाउँघरका सिम क्षेत्रमा नागको पूजा गर्ने चलन छ, त्यहाँ दिशा–पिसाब गर्न निषेध गरिएको छ । भलै त्यहाँ धार्मिक आस्थाको सहारा लिइएको होस् र यसलाई आजकलका कतिपयले अस्वीकार पनि गर्लान् तर जुन रुपमा भए पनि संरक्षण गर्नुपर्ने विधि–व्यवहारको पालना भएको छ । वैदिक सनातन धर्म प्रकृतिसंग सम्बन्धित छ । त्यसै भएर यो धर्मले प्राकृतिक विनाशलाई निषेध गरेको छ । यो धर्मले जल प्रदूषण गर्नेलाई पाताल पुर्याएको छ ।

भगवद्गीतामा श्रीकृष्णले यमुनाको पानी विषाक्त परेर बसेको काली नागलाई पाताल पठाएर गोकुलबासीलाई स्वच्छ जल उपलब्ध गराएको कथा त्यसै रचिएको होइन । अहिले जल प्रदूषणको मारमा परेका नेपालका प्रमुख नदीनालाहरूले कालीनाग दहनको त्यो कथालाई पुनः रुपान्तरण गरेको हेर्न पाउलान् त ? नदी प्रदूषण गर्ने काली नाग प्रवृत्तिहरूलाई पाताल नसके डाँडो कटाउने कोही श्रीकृष्णको जन्म होला त ?

यस्ता प्रश्नहरूको उत्तर खोज्न सके र यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके सिमसार क्षेत्रको मात्र होइन वातावरण संरक्षणकै लागि हाम्रा गाउँघरमा प्रचलनमा रहेका धार्मिक–सांस्कृतिक मान्यता नै पर्याप्त छ । आयातित प्रविधिमा भर पर्नुपर्ने अवस्था छैन । यसका लागि प्रकृतिको पूजा गरेर दिन सुरु गर्ने नेपाली समाजको मौलिक विशेषताको अध्ययन गर्नुपर्यो । वातावरणसंग सम्बन्धित पक्षहरूले गाउँघरमा चलिरहेका यस्ता प्रविधिहरूको वैज्ञानिक अध्ययन गरेर संस्कृति–परम्परा पनि जोगिने र वातावरण पनि संरक्षण हुने कार्यक्रम अघि सार्नुपर्छ ।

रुख रोपेर, वनजंगलको क्षेत्रफल बढाएर गरेर मात्र जैविक विविधता संरक्षण हुँदैन । यसको ताजा उदाहरणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई लिन सकिन्छ । निकुञ्जको वन क्षेत्र बढ्यो तर जंगली जनावरहरूको संख्या घट्यो । यसो किन भयो भन्ने तथ्यमाथि अनुसन्धान थाल्नुपर्छ । जंगलको अर्थ झार बुट्यान मात्र होइन, जंगली जनावरलाई चाहिने आहारको पनि बढोत्तरी हुनुपर्छ । पोषिलो घासको साटो विषालु झार बुट्यान बढेकै भरमा जंगल बढेको भ्रम पाल्ने हो भने त्यस्ता जंगलले विनाश मात्र गर्नेछ । चितवनमा बाघ र गैडाको संख्या घट्नुमा चोरी शिकारीको भन्दा उपयुक्त वातावरणको अभाव प्रमुख रहेको छ ।

देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ । वर्षेनी बढ्दो खाद्य संकटलाई सिमसार क्षेत्रको संरक्षणले पूर्ति गर्न सक्छ । नदी किनार र ताल तलैयाले सिंचेको जमिन मलिलो र उब्जाउ हुने हुँदा त्यस्ता जमिनमा बस्ती बस्न नदिने सरकारी योजना अहिलेसम्म बन्न सकेको छैन । डाँडापाखाहरू भासेर र पानीका स्रोत मानिएका सिम क्षेत्र पुरेर घडेरी विकास गर्ने प्रवृत्तिको अन्त्य पनि अहिलेको प्रमुख माग हो । वातावरण संरक्षणमा लागेकाहरूको पनि यो विषयमा त्यति ध्यान गएको देखिंदैन । नेपालको जैविक विविधता र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि जेजस्तो चासो र चिन्ता व्यक्त गरिनु पथ्र्यो त्यो पनि हुन सकेको छैन ।

विश्व जलवायु परिवर्तनको सर्वाधिक बढी प्रभावित मुलुकमध्ये छैठौं स्थानमा रहेको नेपालमा यहाँको हिमालहरू पग्लिरहेको सन्देश विश्वलाई दिन सफल भए पनि त्यसको निराकरणका लागि दह्रो लविङ्ग गर्न सकेको छैन । नेपाल जस्तै हिमाली देशहरू, जो अल्पविकसित छन् उनीहरूसंगको सहकार्य र सामूहिक योजनाले मात्र विश्वका धनी मुलुकहरूका कारण सिर्जित जलवायु परिवर्तनको मारबाट बच्ने वैकल्पिक उपायहरूका लागि स्रोतको जोहो हुन सक्छ ।

होइन भने हामीले वर्षको एकपटक हिमाल दिवस, सिमसार दिवस, वातावरण दिवस मनाएर मात्र उपलब्धि केही पाउन सक्दैनौं । अनि सानो तिनो कामका लागि पनि विदेशीकै मुख ताक्ने प्रवृत्तिले पनि समस्या जस्ताको तस्तै जहाँको तहीं अझ बढ्दो रुपमा देखा परिरहेको छ । त्यसकारण सिमसार क्षेत्रको संरक्षण मात्र होइन वातावरण संरक्षणकै लागि नारावादी सोच त्यागेर परम्परागत प्रविधि र प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैं गरिरहेको व्यवहारमा प्रोत्साहित गर्नुपर्छ ।

आज जति पनि सिमसार क्षेत्र संरक्षित छन् त्यो जनताकै आफ्नै विवेकले गर्दा हो । जनतामा सिमसार क्षेत्र संरक्षणको विश्वव्यापी महत्व थाहा नभए पनि उनीहरू यो क्षेत्रले हाम्रो जीवनलाई सहज बनाइरहेको छ भन्ने कुरामा जानकार छन् । त्यसैले त्यस्ता प्रविधिलाई प्रोत्साहित गरी वैज्ञानिक उपायहरूको समेत अवलम्बन गर्न सकियो भने नेपालको सिमसार क्षेत्र संरक्षण विश्वकै लागि नमुना बन्न सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.