गोपाल र किराँतकालको राजधानी जयवागेश्वरी
काठमाडौंको पशुपति क्षेत्रमा अवस्थित जयवागेश्वरी आजभोलि मन्दिरका रुपमा मात्र चिनिने गरिए पनि यसको इतिहास र पौराणिकता धेरै लामो छ । इतिहासविद्हरुका अनुसार जयवागेश्वरी गोपाल र किराँत शासनकालको राजधानी थियो । लिच्छविकालमा हाँडीगाउँमा सरेको र मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको हो ।
यही स्थानमा जयवागेश्वरीको मन्दिरको निर्माण भने कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा निर्माण सम्पन्न भएको थियो । जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ ।
तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।
स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।
इतिहासको लामो कालखण्डको प्रतिनिधित्व गर्ने जयवागेश्वरी मन्दिरको पुनःनिर्माण सम्पन्न गरी आज (शुक्रबार)देखि सर्वसाधारणका लागि खुला गरि एको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न गरेर शुक्रबार बिहान क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिने भएको छ ।
रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण भएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत स्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माण गरिएको हो । भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो ।
शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्ध गरियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको हो ।
दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य भएको बताउनुहुुन्छ । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउनुहुन्छ ।
जीर्ण मन्दिर भत्काउने क्रममा मन्दिरभित्र भैरव लगायत विभिन्न देवी देवताका चित्र, तीन गजुरको मन्दिर लगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद् लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो ।
सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो । सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्र लगायत संरचना भेटिएको थियो ।
पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले जस्तै पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्था अनुसार कोषलाई सुझाव दिए अनुसार नै काम भएको बताउनुहुन्छ । म
ाटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उहाँले सुनाउनुभयो । माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र यथावत् राखिएको छ ।
विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेर सुझाव दिएको हो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्