स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । बिहीबार राति भएको खेलमा रियल मड्रिड ले भ्यालेन्सियालाई २-० ले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियो र भिनिसियस जुनियरले समान एक-एक गोल गरे । एकतर्फी बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेको थियो ।
खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा जुनियरले गोल गर्दै रियल मड्रिडलाई २-० को सहज जित दिलाए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा रियल मड्रिडका रुडिगरले गोल गरेपनि उक्त गोललाई भीएआरले मान्यता दिएन।
यता खेलको ७२ औं मिनेटमा भ्यालेन्सियाका गाब्रिअल पाउलिस्टाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियल मड्रिडले १९ खेलमा ४५ अंक जोड्दै दोस्रो स्थानमा छ भने २० अंक जोडेको भ्यालेन्सिया १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्