भारी वर्षासंगै हिमपात र हावाहुरी, जनजीवन अस्तव्यस्त, धनुषा र रौतहटमा तीनजनाको मृत्यु
पश्चिमी वायुका कारण देशका उच्च पहाडी तथा हिमाली भगमाा बाक्लो हिमपात, पहाडी क्षेत्रमा वर्षा र तराईमा वर्षासंगै हावाहुरीसंगै जनजीवन अस्तव्यस्त भएको छ । जनजीवन अस्तव्यस्त बनिरहेका बेला धनुषा र रौतहटमा हावाहुरीले तीन जनाको मृत्यु भएको छ ।

समाचार अनुसार शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्याएको थियो ।
वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्