पेस्तोल, बन्दुकका गोली, सहीछाप गरिएका खाली कागज, लालपूर्जासहित मिटरव्याजी पक्राउ
सोझासिधा जनतालाई आर्थिक भरथेग गरेको नाममा उनीहरुलाई मिटर ब्याज चढाएर उठिबास लगाउनेहरुको खोजी गर्ने क्रममा जनकपुरबाट एक मिटरब्याजी हतियार र कागजातसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह पक्राउ परेका हुन् ।
प्रहरीले साहको घरबाट एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान पनि बरामद भएको जानकारी दिनुभयो ।
त्यसै गरी साह र उनको परिवारको साथबाट कपाली तमसुक १५ थान, खाली कागजमा सहीछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको छ ।
क्षेत्रीका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले साहविरुद्ध उजुरी दिएका थिए । उजुरीकै आधारमा शनिबार दिउँसो २ बजे उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्