पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।

सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति हुनुभएको मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।
उहाँको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ’एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुसर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहनुहुन्थ्यो ।
उहाँले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी)को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गर्नुभएको थियो ।
कलेज पढेपछि २१ वर्षको उमेरमा परवेज मुशर्रफ पाकिस्तानी सेनामा जुनियर अफिसरको रूपमा भर्ना हुनुभएको थियो । उहाँले १९६५ को युद्धमा भारतविरुद्ध बहादुरीका साथ लड्दा पाकिस्तान सरकारले पदक दिएको थियो ।
मुशर्रफले सन् १९७१ को युद्धमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यो देखेर सरकारले उहाँलाई पटकपटक बढुवा गरेको थियो । परवेज मुशर्रफ सन् १९९८ मा जनरल बन्नुभएको थियो ।
सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका भए पनि त्यसको एक वर्षपछि १९९९ मा मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरी पाकिस्तानको राष्ट्रपति बन्नुभयो ।
मुसर्रफ केही महिनादेखि अस्पतालमा भर्ना हट्विटरमा जानकारी दिनुभएको थियो । एमाइलोइडोसिस नामक रोगबाट ग्रसित भएकाले उहाँका सबै अंगले काम गर्न छाडेको बताएको थियो ।
एमाइलोइडोसिसमा, मानव शरीरमा एमाइलोइड नामक असामान्य प्रोटिन बन्न थाल्छ । यो मुटु, मिर्गौला, कलेजो, स्नायु प्रणाली, मस्तिष्क आदि अंगहरूमा जम्मा हुन थाल्छ, जसका कारण यी अंगका तन्तुहरूले राम्रोसँग काम गर्न सक्दैनन् ।
प्रतिक्रिया राख्नुहोस्