साहित्य

सुरभि साहित्य प्रतिष्ठानद्वारा श्रष्टा सम्मान तथा पुरस्कार वितरण

काठमाडौंको गोकर्णेश्वर नगरपालिका बेंसीगाउँमा रहेको सुरभि साहित्य प्रतिष्ठानले आफ्नो पन्ध्रौ स्थापना दिवस विविध श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्य सम्पन्न सो कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।

कार्यक्रममा गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार विश्व कुइकेललाई प्रदान गरिएको छ ।

यसै गरी सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार रञ्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा. रवीन्द्र समीरलाई र सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार लक्ष्मण खतिवडालाई प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई अभिनन्दन समेत गरिएको थियो ।

प्रत्येक महिनाको तेस्रो शनिवारलाई आख्यान वाचन कार्यक्रमको रूपमा लिएको प्रतिष्ठानले १४५ औ आख्यान वाचनको निरन्तरता स्वरूप पुरस्कृत आख्यानकार विश्व कुइकेलबाट कथावाचन समेत गराएको थियो ।

प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा काँठ क्षेत्रका चर्चित आख्यानकार नारायण ढकाल, वरिष्ठ हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य, वरिष्ठ कथाकार नरेन्द्रराज पौडेल तथा प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ समालोचक युवराज मैनाली समेतको उपस्थिति थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका जडा नं ८ का वडा अध्यक्ष श्री नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानले गर्दै आएका कार्यहरूको सह्राना गर्नु भएको थियो ।

प्रतिष्ठानले सुलेख साहित्यिक मासिक नामको साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशन गर्दैआएकोमा सोही कार्यक्रममा जोरपटी आरुबारीमा जन्मिएर साहित्यिक शिखरमा पुग्नुभएका साहित्यकार रमेश विकलप्रति समर्पण गर्दै आफ्नो १२५ औ अङ्क रमेश विकलविशेषाङ्कको रूपमा प्रकाशन गरेको जानकारी गराउँदै उक्त अङ्कको विमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.