कर्पोरेट/पर्यटन

सभामुख घिमिरेसँग पर्यटन संसदीय समिति गठन गर्न परिसङ्घको माग

नेपाल उद्योग परिसङ्घले पर्यटन संसदीय समिति गठनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले मंगलबार सभामुख घिमिरेसँग भेटवार्ता गर्दै पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर समिति गठनको माग गरेको हो ।

सभामुख घिमिरेसँग पर्यटन संसदीय समिति गठन गर्न परिसङ्घको माग

सभामुख घिमिरेसँगको भेटपछि प्रेस विज्ञप्ति जारी गर्दै परिसङ्घले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम र हवाई क्षेत्रलाई युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि ध्यानाकर्षण गराएको जनाएको छ ।

“सार्वजनिक तथा निजी क्षेत्रबाट ठूलो लगानी भइसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृतरुपमा लाभ हासिल गर्न नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आवश्यक छ । त्यस्तो संसदीय समिति गठनका लागि परिसङ्घले सभामुखसँग आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

परिसङ्घअन्तर्गतको पर्यटन समितिका सभापति पम्फा धमलाले पर्यटन क्षेत्र वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र अथाह सम्भावना हुँदाहुँदै पनि यसबाट अपेक्षाकृतरुपमा फाइदा लिन नसकेको जानकारी सभामुख घिमिरेलाई गराउनुभएको थियो । विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारमा पर्यटन क्षेत्रलाई राखिएको भए पनि पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै समग्र आर्थिक विकासमा यो क्षेत्रको योगदान बढाउन संसदीय समिति आवश्यक रहेको परिसङ्घले जनाएको छ ।

“पर्यटन उद्योगको महत्वलाई थप स्थापित गर्न, विकास पूर्वाधार वैज्ञानिक तथा पर्यटनमैत्री बनाउन, पर्यटनसँग सम्बन्धित नीतिगत विषयमा गम्भीर छलफल, परामर्शका लागि सङ्घीय संसद्मा पर्यटन संसदीय समिति गठन गर्न आवश्यक रहेको महसुस निजी क्षेत्रले गरेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

परिसङ्घका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै सङ्घ संस्थाको ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले उच्च सम्भावना र बलियो भविष्य रहेको पर्यटनका माध्यमबाट मुलुकलाई छिटो समृद्ध बनाउन पर्यटनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि संसदीय समिति आवश्यक रहेको बताउनुभयो ।

संसदीय पर्यटन समिति गठन गर्न नेपाल उद्योग परिसङ्घ, होटेल सङ्घ नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल एसोसिएसन अफ टूर अपरेटसर्् (नाटो), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा), टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, नेपाल क्यानोनिङ एसोसिएसनले संयुक्तरुपमा संसद् सचिवालयमा अनुरोधपत्र बुझाएका छन् ।

सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको उल्लेख गर्दै संसदीय पर्यटन समिति गठनका लागि निजी क्षेत्रको सुझाव सकारात्मक रहेको र यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.