जन सरोकार

भागिरथी हत्या प्रकरण– अर्को निर्मला पन्त काण्डको चिन्ता

बैतडीको दोगडा केदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या गरिएको घटनामा दोषीलाई अहिलेसम्म पक्राउ नगरिएकोमा चिन्ता व्यक्त हुन थालेको छ ।

यसबीच भनिएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्पm प्रस्थान गरेको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा बीभत्स हत्या गरी निजलाई फालिएको बुझिएको आयोगको विज्ञप्तिमा छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

यसैबीच बालअधिकार र मानवअधिकारसँग सम्बन्धित संस्थाहरूले दोषीलाई कारवाहीको माग गरेका छन् । बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप) लगायत सञ्जालले ‘यस्ता मानवताविरोधी जघन्य अपराधहरू निरन्तर हुनु सभ्य र सुसंस्कृत समाज निर्माणका लागि गम्भीर चुनौती भएको जनाएका ह्न् । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले तीनै तहका सरकारबाट मानवताविरोधी जघन्य अपराधहरू हुन नदिन सचेतना र जागरण अभियान सञ्चालन गर्न र उक्त कार्यमा लगानी बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

घटनाको अनुगमन गर्न र पीडितलाई न्याय दिन पहल गर्र्नुपर्ने अपिल गर्दै आज विभिन्न संस्थाले विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा ऐक्यबद्धता जनाउनेहरूमा महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), बालसहभागिताका लागि कार्यरत संस्थाहरूको साझा समूह (कन्र्सोटियम नेपाल), राष्ट्रिय बालसंरक्षण सञ्जाल, बालअधिकार समिति, मानव अधिकार सन्धि अनुगमन केन्द्र, बालअधिकारवादी सहकर्मी संस्थाहरूको राष्ट्रिय मञ्च, बालगृह सञ्जाल नेपाल (सिनेट नेपाल), लगायतका संघसंस्था छन् ।

सम्बन्धित खबर

Back to top button