बिचार

एमसीसी आए देश सक्किने, नआए विकास नहुने पक्कै हैन

नेपालको राजनीतिमा राष्ट्रवादी र राष्ट्रघाती कित्ता बनेको छ अमेरिकी सहयोग “मिलेनियम च्यालेञ्ज कर्पोरेशन” (एमसीसी)ले यसका पक्षधरहरु एमसीसी नआए विकास नै नहुने र आए देश नै नरहने बताएर समाजमा छर्नुसम्म भ्रम छरिरहेका छन् ।

वास्तविकता के हो भने एमसिसी आए देश बन्ने एमसीसी नआए देश नबन्ने सत्य हुँदै होइन । अनि अमेरिकाले नेपालमा मनपरी गर्न एमसीसी नामको घोडा चढेर आउने कुरा पनि केटाकेटी कुरा हो । उसलाई मन लागेको काम गर्न सन् १९६१ देखि सुरु भएको अमेरिकी सरकारको पिस्कोर कार्यक्रम नै पर्याप्त छ ।

खासमा हाम्रो देश नबनेको, गफ र षड्यन्त्रका कुरामात्र बढी हुने भएकाले हाम्रो देशमा यस्ता एमसीसीलाई राजनीतिको विषय बनाउने खेतीपातीले ठाम पाएका हुन् । अनि हाम्रो देश नबनेको कारण चैँ हाम्रो देशमा अहिलेका जस्ता षड्यन्त्र सिद्धान्तवादी राजनीतिकर्मीले देश चलाएकाले हो । हामीकोमा व्यवहारमा न कोही मार्क्सवादी छन् न त लोकतन्त्रवादी । छन् त राजनीति धन्दावादी । राजनीति ओछ्याउनी, राजनीति ओढ्नी, राजनीति छाँट्नी, राजनीति बाँड्नी, राजनीति खानी, राजनीति डकार्नी !

खासमा अहिलेसम्म हामीले नेता पाएका नै छैनौँ। हामीले नेता पाए पछि देश बन्छ । अझ राजनेता त हाम्रा लागि कल्पनाका कुरा भए !हाँसो लाग्छ ! आवधिक चुनाव गर्ने कुरा समेत सरकारले जनतालाई दया गरेर घोषणा गरे जसरी समाचार आउँछ !

एमसीसीमा फर्कौँ । यो तातो आलु भा’छ ऐले । तर एमसीसी कदापि विकासको लागि जादुको छड़ी भने होइन । यो सामान्य वाह्य सहायता हो । किनभने गरिबी र अविकास अहिले आन्तरिक मामला रहेन । तन्नम् मुलुकले धनी मुलुकमा नराम्ररी असर पार्दछ !

विकास निर्माण गर्न पैसो चाहिन्छ । तर भ्रष्ट मुलुकमा सरकारमा बसेकाले नै पैसो झ्वाम् पार्दछन् भन्ने वाह्य सहयोगी मुलुकले राम्ररी बुझेका छन् । अर्थात् देशमा कुशासन, भ्रष्टाचार र अनियमितता भएपछि सहयोग गर्ने वाह्य सहयोगीहरुले पनि हामीलाई विश्वास गर्दैनन् । त्यसैको परिणाम हो एमसिसी र यसका शर्त ।

मुलुक बाँकी विश्वसँग अलग्ग रहेर पनि चल्दैन । आफ्नो श्रोत नभए हामीले वाह्य सहयोग पनि लिनुपर्छ र सकेमा अरुलाई पनि सहयोग गर्न सक्ने बन्नुपर्छ । अनि सहयोग लिन हाम्रो मुलुकको विकासबारे हाम्रो राष्ट्रिय समझदारी र निति हुनै पर्छ । अहिले हामीमा त्यो समझदार नीति छैन । अनि त हाम्रा पाखण्डी नेताले हामीमाथि षड्यन्त्र गरिरहन्छन् ।

नवमार्क्सवादी विद्वान् ग्राम्ची (Gramsci) ले व्यवहारवादको दर्शन (philosophy of praxis) अवधारणाको चर्चा गरेका छन् । व्यवहारवाद भनेको सिद्धान्तलाई व्यवहारमा अनुवाद गर्ने कार्य हो । कुरौटे र दोहोरो मापदण्डका हाम्रा कथित नेताहरुले पाखन्डता (hypocrisy) अपनाउँछन् । नीति मनोविज्ञान अनुसार पाखन्डता भनेकै सिद्धान्तलाई व्यवहारमा नबदल्नु हो ।

अर्थात् सिद्धान्तका गफ छाँटेर जनतालाई एकथरी कुरा गर्ने र भित्रभित्र अर्कै थरी व्यवहार गर्ने । यस्ता पाखण्डीका उत्कृष्ट नमूनाहरु बर्गेल्ती छन् हाम्रा दलहरुमा । विशेष गरी मार्क्सवादी मुकुण्डोधारीहरु !

देश विकास विदेशीको सहायताले हैन, आफ्नै पौरखले हुने हो । हिजोका दिनसम्म अति पिछडिएका मुलुक आज विकास र समृद्धिको उचाई छुन सफल हुनुमा त्यो देशका नेताको सही दृष्टिकोण, सोच र विकासप्रतिको चिन्तन अनि इमान्दारिताले हो भने नेताले जनतामा छरेको विकासको भोक संगालेर ग्रहण गर्ने र साथ दिने जनताले हो । यत्ति सोचे, बुझे एमसीसीको पक्ष विपक्षमा लाग्नै पदैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button