नयाँ शक्तिको महाधिवेशनमा नयाँ दलहरुलाई मात्र निम्तो
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा नयाँ राजनीतिक शक्तिहरुलाई मात्र निमन्त्रणा दिइएको छ ।

महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायतको उपस्थिति छ भने ठूला राजनीतिक दलका नेतृत्वलाई भने अधिवेशनमा निम्तो दिइएको छैन ।
उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक दस्तावेजबारे केही जानकारी गराउँदै विश्व राजनीतिको पछिल्लो परिस्थितिबारे संश्लेषण गरेर उक्त दस्तावेज तयार पारिएको बताउनुभएको छ ।
डा. भट्टराईका अनुसार दस्तावेजको नाम ‘नयाँ युगको नयाँ कार्यभार, वैकल्पिक राजनीतिको औचित्य र आधार’ राखिएको छ ।
काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ । उद्घाटन सत्रपछिको बन्दमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्