कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो, संक्रमितको संख्या ४२ हजार बढी
चीनमा फैलिएको नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यस्तै सोमबारसम्म संक्रमितका संख्या ४२ हजारभन्दा बढी रहेका छन ।
सोमबार मात्र सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा १०३ जनाको मृत्यु भएको छ । उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो ।
यसबीचमा चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन् । त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन् ।
सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ । हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ । अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्