अर्थ

राष्ट्रिय गौरवका आयोजनाका बजेट ८२ अर्ब २४ करोड- खर्च १३ अर्ब ४८ करोड

सरकारले पूँजीगत खर्च गर्न नसक्दा यसको चाैतर्फी असर बजारमा परिरहेको छ । अझ राष्ट्रिय गौरवका आयोजना भनेर विनियोजन गरिएको बजेट खर्च समेत असाध्यै न्यून खर्च हुँदा विकास आयोजनाको लागत र समय दुबै बढ्ने देखिएको छ ।

राष्ट्रिय गौरबका २५ आयोजनाका लागि कूल ८२ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा आर्थिक वर्षको आधा अवधि समाप्त हुँदा जम्मा १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाकोे खर्च न्यून भएको पाइएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि रु ८२ अर्ब २४ करोड बढी बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये चालु आवको पहिलो छ महिनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च भएको हो ।

तथ्याङ्कअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ रु तीन अर्ब ३८ करोड ४६ लाख, पूँजीगततर्फ रु ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ रु १२ अर्ब ३८ करोड ४६ लाख गरी रु ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो । उक्त विनियोजन गरिएको बजेटअन्तर्गत चालु आर्थिक वर्षको पहिलो छ महिनामा चालुतर्फ रु एक अर्ब ३६ करोड ८० लाख, पूँजीगततर्फ रु ११ अर्ब ६३ करोड छ लाख र वित्तीय व्यवस्थापनतर्फ रु ४८ अर्ब ५० लाख गरी रु १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४.१ प्रतिशत बजेट खर्च भएको छ । सो आयोजनाका लागि रु आठ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा छ महिनाको अवधिमा रु एक अर्ब ९६ करोड ४६ लाखमात्र बजेट खर्च भएको छ । हुलाकी राजमार्गका लागि रु छ अर्ब ३९ करोड ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म रु दुई अर्ब ४४ करोड ९९ लाख खर्च भएको छ ।

उत्तर दक्षिण लोकमार्गका लागि रु एक अर्ब ११ करोड १४ लाख बजेट विनियोजन भएकोमा रु १५ करोड ९० लाख, उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुङ्गा–राम्दी) परियोजनका लागि रु दुई अर्ब ४२ करोड ५५ लाख बजेट विनियोजन गरिएकोमा रु ७७ करोड ७२ लाख र उत्तर दक्षिण लोकमार्गका लागि रु ५८ करोड ८९ लाख बजेटमध्ये रु पाँच करोड २६ लाख बजेट खर्च भएको छ ।

यस्तैगरी रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका लागि रु छ अर्ब ५३ करोड २५ लाखमध्ये रु ९५ करोड ६२ लाख, काठमाडौँ तराई मधेश द्रुत मार्गका लागि रु आठ अर्ब ९२ करोड ७९ लाखमध्ये रु एक अर्ब ४० करोड ८४ लाख, गल्छी त्रिशूली मैलुङ स्याफ्रुेवेसी रसुवागढी सडक आयोजनाका लागि रु एक अर्ब ६२ करोड १७ लाखमध्ये रु ८२ करोड ५९ लाख खर्च भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि रु तीन अर्ब ७२ करोड ८० लाखमध्ये रु १८ करोड ५० लाख खर्च भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि रु १३ अर्ब ४१ करोड २९ लाखमध्ये रु आठ अर्ब ५० करोड खर्च भएको छ ।

यस्तै पशुपति क्षेत्र विकास कोषका लागि रु ३५ करोडमध्ये रु आठ करोड ५१ लाख, बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि रु सात अर्ब ९९ करोड ५८ लाखमध्ये रु १८ करोेड ६५ लाख खर्च भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.