जन सरोकार
तुलसीपुरमा आगलागी : पाँचजनाको मृत्यु
दाङको तुलसीपुरस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा भएको आगलागीमा चार जना पुरुष र एकजना बालिकाको मृत्यु भएको हो ।

गए राति २ बजेदेखि आगलागी भएको थियो । विहान ७ बजे मात्र आगा नियन्त्रणमा आएपछि शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्