भ्रष्टाचार नियन्त्रण अनिवार्य : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकोा विकास र सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य भएकाले सरकार भ्रष्टाचारविरुद्ध हदैसम्म निर्मम हुने बताउनुभएको छ ।
शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभएको हो ।
कार्यक्रममा उहाँले अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको पनि बताउनुभयो ।
उहाँले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको बताउँदै यसका लागि सबल, सक्षम र गतिशील अख्तियार चाहिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कानूनी सुधार, स्रोतको व्यवस्थापन, जनशक्ति परिचालन तथा संरचनागत सुधारमा सरकारको निरन्तर सहयोग रहने बताउँदै संविधानले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अख्तियारलाई सरकारले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन यही वर्षभित्र संशोधन गर्न प्रयास गर्ने पनि बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्