वैशाख २९ गतसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
यसपटक हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन अर्थात् २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।
तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो । “माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष उमेर पुग्ने नागरिक मतदाता हुने,” प्रवक्ता पौडेलले प्रष्ट्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्