जन सरोकार

भागरथी हत्या प्रकरण- प्रहरी अनुसन्धान सफलताको नजिक

भागिरथी भट्ट

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् ।

“शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेल लगायतबाट आफूहरू घटनाको एकदमै नजिक पुगेका हौं”, बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भन्नुभयो, “विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ ।”

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्रै सामूहिक हो वा एक जनाले बलात्कार गरेको खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौँ, त्यसबाट थप कुरा थाहा हुन्छ ।” घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

घटनाको नौ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो । जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी छन् । हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताउनुभयो ।

घटनाको नौ दिन भए पनि भागरथीको दाहसंस्कार हुन सकेको छैन । शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझ्न नमानेका हुन् । घटनाको सत्य तथ्य छानविन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो । अस्पतालमा शव सुरक्षित राख्ने‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिनुभयो । “मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “मर्चरी मगाउने पहल गरेका छौँ तर प्रदेशमै मर्चरी छैन ।”

यसबीच राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताउनुभयो । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग गम्भीर छलफल भएको उहाँले बताउनुभयो । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उहाँको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ ।”

आयोगकी सदस्य खतिवडाले आपूm घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानूनको दायरामा आउने उहाँको विश्वास व्यक्त गर्नुभयो । पीडितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बिक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरसँग अपिल गरेको छ ।

सम्बन्धित खबर

Back to top button