राजनीति

‘एमसीसीको विरोध राजनीतिक ‘स्पेस’ का लागि मात्रै’

एमसीसी नेपालबाट फिर्ता भए अन्तरराष्ट्रिय दातृ निकायले नेपाललाई सहयोग गर्दैनन् !

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई विरोधीहरूले राजनीतिक स्वार्थका रूपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको शनिबार आयोजित कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ ।

अर्थविद, राजनीतिक विश्लेषक, कानुनविद् एवम् यस सम्बन्धी जानकारहरूले एमसीसीलाई देशको हित विपरीतमा छ भनी अपव्याख्या गरेर जनसाधारणमा अफवाह फैलाउनु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो ।

लोकपथ डटकमले आयोजना गरेको ‘एमसीसीको यथार्थ र आवश्यकता’बारेको अन्तरक्रियामा वक्ताहरूले नेपालजस्तो विकासोन्मुख देशका लागि एमसीसी परियोजनामार्फत हुने लगानी अपरिहार्य भएकाले यसलाई फिर्ता गर्न नहुने धारणा राख्नुभयो ।

साथै उहाँहरूले एमसीसी नेपालबाट फिर्ता भए एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तरराष्ट्रिय दातृ निकायले नेपाललाई सहयोग गर्दैनन् भन्दै यसबाट नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले एमसीसी परियोजनालाई लिएर भइरहेको विरोध देखावटी मात्र भएको र राजनीतिक ‘स्पेस’ दिनलाई विरोध गरिएको टिप्पणी गर्नुभयो ।

“एमसीसीको विरोध ओपन सेक्रेट छ, यो परियोजनाको सम्झौतामा को को सहभागी थिए, त्यसैले अहिलेको विरोध राजनीतिक स्पेसका लागि देखावटी मात्रै हो ।”

उपाध्यक्ष पौडेलले नेपालसँग लामो सम्बन्ध रहेको अमेरिकासँगको सम्बन्धलाई बिगार्न नहुने बताउनुभयो । ठूला विकासे परियोजनामा सधैँ बखेडा झिकेर देश विकासमा कस्तो असर पर्छ भन्ने विगतका उदाहरणबाट सिकेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले अमेरिकासँग नेपालको लामो सम्बन्ध रहेको चर्चा गर्दै एमसीसीको गलत व्याख्या गरेर जनमानसमा हौवा फिजाएर कूटनीतिक सम्बन्धलाई कमजोर तुल्याउन नहुने धारणा राख्नुभयो । उहाँले उक्त परियोजनाको रकम सडक सञ्जालको विकास र विद्युत् प्रसारण लाइन निर्माणका निम्ति अनुदान भएको स्पष्ट पार्नुभयो ।

जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानले एमसीसीको विरोध गर्नु राजनीतिक बेइमानी भएको र यो परियोजनालाई ठूला मिडियाले पनि साथ नदिएको गुनासो गर्नुभयो । उहाँले विगतमा अरुण तेस्रो आयोजना रोकिएर भूटानभन्दा पछि परेको देशको अवस्थालाई बुझेर पनि एमसीसी परियोजनालाई फर्कन दिन नहुने जिकिर गर्नुभयो ।

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसीसीलाई राजनीतिक रङ्ग दिएर विरोधीले परियोजनाको अपव्याख्या गर्नु राष्ट्रहित विपरीत भएको तर्क गर्नुभयो । अर्का राजनीतिक विश्लेषक सरोज मिश्रले एमसीसी परियोजना नेपालले नस्वीकारे विदेशी लगानी नभित्रने आशङ्का व्यक्त गर्नुभयो । विश्लेषक विजय मिश्रले एमसीसी परियोजनालाई राष्ट्रघाती भनेर जनतामा भ्रम सिर्जना गर्न कतिपय दलहरू लागेको धारणा व्यक्त गर्नुभयो ।

यस्तै, प्राध्यापक कपिल श्रेष्ठले एमसीसीबारे भएको झुटको खेतीले जनसाधारणमा भ्रम पारेको बताउनुभयो । कानुनविद् सेमन्त दाहाल एमसीसी परियोजनालाई लिएर विरोध गर्नुको कुनै औचित्य देख्नुहुन्न ।

स्तम्भकार हरिविनोद अधिकारी पनि एमसीसीबारे संसद्लाई नै सार्वभौम अधिकार प्रयोग गर्न दिइनुपर्ने धारणा राख्नुहुन्छ । प्राध्यापक कृष्ण हाथेछुले एमसीसीको आवश्यकता र औचित्यका आधारमा निर्णय गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.