सामान्य विवादमा नयाँ बसपार्क क्षेत्र दिनभर तनावग्रस्त
सामान्य विषयमा उत्पन्न विवादले उग्ररुप लिंदा सोमबार बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र दिनभर तनावग्रस्त बनेको छ भने यातायात व्यवसायीहरुले भोलि मगलबार सम्पूर्ण यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालका अनुसार सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध भएको थियो । यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।
उहाँका अनुसार मजदुरले माइक्रो बस पार्कभित्र लान पाउनुपर्ने माग समेत राख्दै आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको हो ।
यस्तै मजदुरलाई आक्रमण भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘फागुन ३ गतेदेखि देशव्यापी गरिने आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने क्रममा नयाँ बसपार्कमा भेला भएका मजदुरलाई ठेकेदार कम्पनी ल्हात्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, ल्होत्सेकै कर्मचारी पङ्कज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित करिब ३० जनाको समूहले आक्रमण गरेको छ।’
व्यवसायीले मंगलबार उपत्यकाका सम्पूर्ण सवारी समाधान बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। उपत्यका बाहिरको हकमा भने अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन गर्न व्यवसायीले अनुरोध गरेका छन् ।





प्रतिक्रिया राख्नुहोस्