बलात्कारको आरोप लागेका उद्योेगीलाई कारबाहीको माग गर्दै महिलाद्वारा प्रहरी कार्यालयमा प्रदर्शन
एक १४ वर्षीया बालिकालाई जवर्जसती करणी गरेको आरोप लागेका उद्योगपतिलाई कारबाहीको माग गर्दै महिलाहरुको एक समूहले शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन् ।
कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको भन्दै बालिकाकी आमाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।
श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट तत्कालीन प्रेस चौतारी कपिलवस्तुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत हुन् । श्रेष्ठलाई बचाउन र घटना ढाकछोप गर्न जिल्लाका पत्रकार र सञ्चार माध्यम समेत लागेको भन्दै महिला अगुवा सविताले यसबाट पीडित पक्ष थप पीडा र अन्यायमा परेको गुनासो गर्नुभएको छ ।
श्रेष्ठलाई कारबाही गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै तौलिहवाका महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् । महिलाहरुको समूहले जिल्ला प्रहरी कार्यालय तौैलिहवा पुगेर आरोपी श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्न माग गरेको छ । नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई राजनीतिक र प्रशासनिक संरक्षणमा पक्राउ नगरिएको भन्दै महिला अगुवा सविता श्रेष्ठले आक्रोश पोखेकी छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर जबराले आरोपित श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा उनको खोजी र घटनाको सुक्ष्म अध्ययन भइरहेको बताउँदै हामीले कसैको दबाब र प्रभावलाई वास्ता नगरी खोजी कार्य जारी राखेको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्