जन सरोकार

जोरपाटी–सुन्दरीजल सडक वैशाखभित्र कालोपत्र गरिसक्ने मेयर चालिसेको प्रतिबद्धता

झण्डै दुई दशकदेखि कायम रहेको विवादलाई चिर्दै स्थानीयबासीसंगको सहमति र कतिपयको बिरोधकाबीच जोरपाटी–सुन्दरीजल सडकखण्डमा कालोपत्र शुरु हुन र दुई महिनाभित्र सम्पन्न गरिने लक्ष्य गोकर्णेश्वर नगरपालिकाले लिएको छ

आइतबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सडक खण्डको ढल निर्माणलगायतका काम अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेदेखि सडक कालोपत्र शुरु गरिने बताउनुभएको छ ।

सो नगरपालिकाको वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले सो जानकारी दिनुभएको हो ।

त्यस अवसरमा उहाँले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको पनि बताउनुभएको छ । स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी उहाँले काठमाडौंको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गर्न लागिएको उल्लेख गर्दै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताउनुभयो । कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उहाँले बताउनुभयो ।

वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताउनुभयो । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तिलाई सम्मान गरेको छ । नगरप्रमुख चालिसे, प्रमुख सल्लाहकार रिसाल, वडाध्यक्ष मानन्धर, प्रा डा ऋषिराम पोखरेल र समितिका संयोजक दामोदर खनालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने १२ जनालाई संयुक्तरूपमा सम्मान गर्नुभएको हो ।

योग शिक्षाको विस्तारमा योगदान गरेवापत अच्युत अर्याल, बुद्ध संस्कृति र परम्पराको विकासमा योगदान गरेवापत शङ्करमान तामाङ र सामाज सेवामा योगदान गरेवापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद खनाल, अष्टमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित हुनुभएको छ । त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button