बागमती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था लागू
बागमती प्रदेश सरकारले मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
यो व्यवस्थाको मंगलबारबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको मध्यपुरथिमि राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले मंगलबारदेखि लागू भएको नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उहाँले लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने बताउनुभयो । कर्मचारीलाई उहाँले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिँदै कर्मचारीका कारण गुनासो सुन्नुपर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाअर्थात् ‘ट्रायल पास’ हुने प्रणाली लागू गर्ने भनिए पनि दुई दिन सार्वजनिक बिदा परेकाले आज उद्घाटन गरी व्यवस्था लागू गरिएको बताउनुभयो । यो प्रणालीले सवारी चालक अनुमतिपत्र लिन सेवाग्राहीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शिवकुमार निरौलाले नयाँ प्रणालीलाई प्रदेश सरकारको निर्देशन र निर्देशिकाअनुसार सहजरूपमा कार्यान्वयन आजैदेखि सुरु गरिने बताउनुभयो ।
यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो व्यवस्था लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गरी लागू नगर्न परिपत्र गरेपछि तीन पटकसम्म यो व्यवस्था लागू गर्न रोकिएको यातायात व्यवस्था विभागका कर्मचारीले बताएका छन् ।
गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको ती कर्मचारीले बताए । यसअघि असोज २ गते र मङ्सिर १८ गतेदेखि उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो ।
दुई तथा चारपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा स–सानो त्रुटिमा पनि फेल भनेर फर्काउने गर्दा सडकमा वर्षौंदेखि बिना सवारी चालक अनुमति नै नलिई सवारी चलाउँदै आएका पनि पटक पटक फेल हुने गरेको गुनासो बढेको थियो । यसरी स–साना त्रुटिमा पनि फेल भनेर फर्काउँदा अनुमतिपत्र अवैधानिकरूपमा लाइसेन्स निकाल्ने, नक्कली परीक्षार्थी परीक्षामा आउने र विभिन्न प्रलोभनमा बिचौलिया सक्रिय भएको गुनासो बढिरहेको थियो । सेवाग्राहीले प्रयोगात्मक परीक्षामा फेल गराएर गलत प्रक्रियाबाट पास गराउन बिचौलिया हावी भएर आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको थियो ।
मंगलबारदेखि लागू भएको प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार १०० तोकिएको छ भने त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थीले प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको मानिने र अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारले तयार पारेर कार्यान्वयनमा ल्याएको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा अङ्ग्रेजी अङ्क आठ (एट) को अङ्कभार २० तोकिए पनि दुई पटकसम्म उक्त अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर ट्रायल परीक्षा भने उत्तीर्ण हुनेछ ।
निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा यु–टर्नको अङ्कभार १० तोकिएको छ । ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अङ्क घटाइनेछ भने त्यस्तो अवस्थामा अङ्कित रेखा छोए अनुत्तीर्ण हुने व्यवस्था छ । ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएकोमा ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् ।
प्रयोगात्मक परीक्षाको क्रममा दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायरले अङ्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नघुमाएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी उकालो (र्याप) को अङ्कभार २०, परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो एटको अङ्कभार २० तोकिएको छ ।
नयाँ प्रणालीले ट्रायल परीक्षामा अहिलेको भन्दा ३० देखि ४० प्रतिशत बढी प्रशिक्षार्थी उत्तीर्ण हुने अनुमान गरेको छ । यसअघि लिखित परीक्षामा २० वटा प्रश्न सोधिने गरेकोमा नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने भएको छ । लिखित परीक्षामा पहिलो ५० अङ्क ल्याउने उत्तीर्ण हुने प्रावधान रहेकोमा नयाँ प्रणाली लागू भएपछि ६० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्