जन सरोकार

नयाँ बसपार्कमा काम गर्ने वातावरण बनाउन माग

काठमाडौँको नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नयाँ बसपार्कमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फागुन १ गते नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मल तोडफोड र मोबाइल पसल चोरी भएको भन्दै नयाँ बसपार्कको सुरक्षा र काम गर्ने वातावरण निर्माण गर्न माग गर्नुभएको हो ।

“कानुनसम्मत रुपमा काठमाडौँ महानगरपालिकासँग निश्चित समयका लागि सम्झौता गरेर सञ्चालन गरिएको नयाँ बसपार्कको सञ्चालक समूहलाई मजदुरका नेताले बारम्बार धम्की दिने तथा दुःख दिने काम हुँदै आएको छ, बनाइएका संरचनामा तोडफोड गरिएको छ, नयाँ बसपार्कमा कार्यरत कर्मचारीको सुरक्षा र यहाँ काम गर्ने वातावरण निर्माण गरियोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष कुँवरले नयाँ बसपार्कभित्र विभिन्न ट्रेड युनियन सङ्घ सङ्गठनले मजदुर भेला तथा आमसभाको लागि ठाउँ माग्दा ठाउँ उपलब्ध नगराएको कारण मलभित्र चोरी तथा तोडफोड भएको बताउनुभयो । “ल्होत्सेले नयाँ बसपार्क सञ्चालनका लागि निश्चित समयका लागि काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेको छ, सम्झौता सकिएपछि यहाँ निर्माण भएका भौतिक संरचना महानगरपालिकालाई जिम्मा लगाउँछौँ, राज्यको सम्पत्तिमाथि किन यसरी प्रहार हुँदैछ ?”, उहाँले प्रश्न गर्नुभयो ।

कोरोना र आर्थिकमन्दीका कारण थला परेका व्यवसायीको पसल चोरी हुनु तथा अर्बौँ लगानी गरेर बनाएको मलमा क्षति पुग्दा व्यवसायी र राज्यलाई ठूलो क्षति भएको उहाँको भनाइ छ । ल्होत्से मलभित्र चोरी तथा तोडफोडका घटनाबाट रु १५ करोडको क्षति भएको अध्यक्ष कुँवरले बताउनुभयो ।

उहाँले मलभित्र भएको क्षतिको क्षतिपूर्ति र घटनामा संलग्न मजदुर नेतालाई अविलम्ब पक्राउ गरी कारबाही गर्न मागसमेत गर्नुभयो । उहाँले सोही दिन झुटा आरोप लगाएर पक्राउ परेका ल्होत्सेका कर्मचारीलाई रिहा गर्नसमेत माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.