प्रहरी कल्याण कोषमा प्रभु बैंकको छात्रवृत्ति अक्षय कोष
नेपाल प्रहरीको प्रहरी कल्याण कोषमा छात्रवृत्ति अक्षय कोष स्थापनाका लागि प्रभु बैंक लिमिटेडले सहकार्य गर्न समझदारी भएको छ । बिहिबार “नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष” स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हा ।

सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरियो ।
समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सिसिटिभि जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
साथै पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जानेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताउनुभयो ।
नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।
सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ ।
छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी(प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।
आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार हस्ताक्षर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रभु बैंकका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्