कर्पोरेट/पर्यटन

महाशिवरात्रिदेखि जनकपुर-पोखरा हवाई उडान

ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । हवाई सम्पर्कबाट जनकपुर आएका धार्मिक पर्यटकलाई विश्व प्रसिद्ध पर्यटकीय स्थल पोखरासम्म पुग्न घच्घच्याउने अपेक्षा गरिएको छ ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।

बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिनुभयो ।

सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उहाँले जनाउनुभयो । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उहाँले बताउनुभयो ।

जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् ।

यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button