जन सरोकार

भारतले महाकाली नदीमा बनाएको काठेपुल प्रहरीले भत्काइदिए

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र उसको नक्सामा गाभेपछि सीमा समस्या अरु चर्कदो अवस्थामा छ । सरकारले यस विषयलाई कूटनीतिक तवरबाट समाधान गर्ने बताइरहे पनि अहिलेसम्म त्यस्तो प्रक्रिया अघि नबढेका बेला भारतले महाकाली नदीमा एकतर्फी रुपमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् ।

केही साताअघि व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो । आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा पुल हालेको थियो ।

व्यास–१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालेका हुन् । व्यास–१ कै कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन नसकेको एक प्रहरीले बताए ।

उता प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त क्षेत्रमा सुरक्षा उपस्थिति नहुँदा त्यहाँ कार्यरत कामदारले सडक खनेका र अस्थायी काठेपुल लगाएको दाबी गर्दै भारतले नभई उक्त क्षेत्रमा मजदुरी गर्न जाने नेपाली कामदारले सजिलोका लागि काठेपुल लगाएको र ‘अन्तर्राष्ट्रिय सीमा नदीमा पुल लगाउनु हुँदैन, सबैलाई समस्या पर्छ भनेर कामदारलाई सम्झाएर प्रहरी फर्केका बताउनुभएको छ ।

उता स्थानीयबासी भने सीमापारि भारतीय सुरक्षाकर्मीको नियमित गस्तीका बीच कामदारले सीमा नदीमा पुल हाल्नु असम्भव भएको बताउँछन् । एक स्थानीयका अनुसार भारतले उक्त क्षेत्रमा मनोमानी ढंगले सडक निर्माण गरिरहेको छ । काठेपुल त कामदारले वारिपारि गर्नलाई लगाए होला । नेपाली भूमिमा आएर सडक बनाई डोजर ओसारपसार गर्नु कति ठूलो हेपाहा प्रवृत्ति हो भन्दै प्रश्न गरेका छन् ।

गत वर्ष भारतले नेपाली प्रशासनकै सहमतिमा महाकालीमा काठेपुल हालेको थियो । तर, भारतले त्यसविपरीत नेपाली पक्षको उपस्थिति नभएको मौका छोपी संरचना निर्माण गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.