राजनीति

प्रचण्डले नै एमसीसी पास गर्छु भनेर हस्ताक्षर गरेका हैनन् र ?

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग ‘एमसीसी’ र सत्ता गठनबन्धन फरक विषय भएको बताउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास गर्छौं भने हस्ताक्षर गरेको स्मरण गराउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “ कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन । ”

उहाँले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।”

एमसीसीमा कुनै देशद्रोह नभएको उहाँले बताउनुभयो । प्रवक्ता डा महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भन्नुभयो, “नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देशद्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?”

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उहाँले सार्वभौम संसद्को अधिकार हो भन्नुभयो । दलहरुका एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उहाँले भन्नुभयो, “संसदमा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्यो ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “प्रचण्डले एमसीसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?”

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसदमा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गनुभयो । उहाँले भन्नुभयो, “एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.