राजनीति

"प्रजातन्त्र दिवसले जनताको चाहना सम्बोधन गर्न प्रेरित गर्ने"

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताउनुभएको छ ।

राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दैै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभएको छ ।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरुप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।
यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो । प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उहाँको विश्वास छ ।

जनताको सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर भएको बताउनुभएको छ । सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा जीवनको आहुति दिने वीर वीरङ्गानालाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.