अन्ततः दिनेशले स्वीकारे भागरथीको बलात्कारपछि हत्या गरेको

बैतडीकी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ गरेका दिनेश भट्टले बिहिबार बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । बुधबार प्रहरीसंगको बयानमा आफूले हत्या मात्र गरेको र करणी गर्न खोज्दा रगत देखिएपछि नगरेको बताएका भट्टले बिहिबार प्रहरी हिरासतमा बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् ।
बुधबार पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो । दिनेशले हत्या मात्र गरेको बयान दिएपछि भागरथीका आफन्तले बलात्कारी पक्राउ गर्नुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेका थिए । बिहिबार भने उनले जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर छोरालाई प्रहरी कहाँ भेटेका छन् । त्यस क्रममा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा संलग्नता स्वीकार गरेको काका लक्ष्मण भट्टले बताएका छन् ।
सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।
घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीविरुद्ध भागरथीका दाइ केशवले किटानी जोहरी दिएका छन्, त्यसमा दिनेशको उमेर १८ वर्ष उल्लेख छ । कानुनतः उनी नाबालक भेटिए, दुई तिहाइ सजाय हुनेछ । उमेरको प्रमाणिकरणका लागि प्रहरीले विद्यालयलाई पत्राचार गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्