राजनीति

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, सन्देशमा भनिएको छ ।

विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

यसै गरी राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताउनुभएको छ । महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।

महिलाविरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताउनुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरण गर्न नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पीडितलाई तत्काल राहत र पुनःस्थापनाका विषयमा थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको जनाउँदै मन्त्री महतोले त्यसका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि निर्माण भएका कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्य, संयुक्त राष्ट्रसङ्घीय सिड कमिटीका उपाध्यक्ष वन्दना राणासहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीले मानसिकता परिवर्तन गर्नु नै अहिलेको ठूलो चुनौती रहेको धारणा राख्नुभयो ।

डेढ वर्षअघि कञ्चनपुर र गत माघ २१ गते बैतडी जिल्लामा किशोरीहरूमाथि भएका जघन्य हिंसा र हत्याका घटनामा राष्ट्रपतिको चासो र चिन्ता रहेकाले नीतिगत, कानूनी र व्यावहारिक सुधारको पहल गर्न राष्ट्रपति कार्यालयले सरोकार पक्षसँग छलफलको आयोजना गरेको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button