जन सरोकार

समाचारको प्रमुख स्रोतको रूपमा राससको भूमिका अझै सुदृढ

राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस)को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “सूचना प्रविधिको नवीनतम् विकास र प्रयोगबाट आमसञ्चार क्षेत्र प्रशस्त लाभान्वित भएको छ । समाजका हरेक तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भएको छ, जसबाट स्वदेश र विदेशका खबरहरू क्षणभरमै हरेक नागरिकले प्राप्त गर्ने र सुसूचित हुने अवस्था सिर्जना भएको छ ।”

प्रविधिको विकासले सकारात्मक परिवर्तन ल्याएसँगै यसको अर्को पक्षकारूपमा भ्रामक सूचना र समाचारको ठूलो चुनौती थपिएको राष्ट्रपतिको भनाइ छ ।

सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्न गएको राष्ट्रिपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

“आफ्नो प्रभावकारिता र पहुँच विस्तार गर्न राससले छापा माध्यमका समाचारका अतिरिक्त श्रव्य÷दृश्य सामग्रीको उत्पादन र वितरणमा समेत जोड दिनु बाञ्छनीय हुन्छ”, सन्देशमा राष्ट्रपति भण्डारीले अगाडि भन्नुभएको छ, “आधिकारिक र तथ्यपूर्ण सूचना एवं सञ्चारका क्षेत्रमा राज्यले गरेको लगानीलाई नागरिक हितका लागि उपयोग गर्नु राससको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ ।”

लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका पक्षमा कुशल सञ्चारमार्फत राससले अझ योगदान गर्दै जाने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनतामा सही सूचना प्रवाहका लागि राष्ट्रिय समाचार समिति (रासस)को दायित्व र भूमिका अझै बढेको बताउनुभएको छ ।

आफ्नो गौरवमय ६२औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति पुनले एक शुभकामना सन्देश दिनुहुँदै उहाँले राससले आफ्नो सेवाहरू समयसापेक्ष परिमार्जन र विविधिकरण गर्दै विश्वसनीयतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा अगाडि भन्नुभएको छ, “राससलाई अझ सशक्त, प्रभावकारी र सुदृढ बनाउन नेपाल सरकारको सहयोग अझै बढ्ने विश्वास लिएको छु ।”

आजको युग सूचना र प्रविधिको हो भन्दै उपराष्ट्रपति पुनले सन्देशमा भन्नुभएको छ, “सूचनाको शक्ति अरूसँग तुलना हुन सक्दैन । जहाँका जनता सही सूचनाबाट सुसूचित हुन्छन्, त्यहाँका जनता शक्तिशाली हुन्छन्, सुशासन हुन्छ र लोकतन्त्र बलियो हुन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.