राजनीति

अदालतले अन्यथा फैसला गर्दैन, तोकिएकै मितिमा चुनाव हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले निर्वाचनको घोषणाका विषयमा अदालतले अन्यथा फैसला नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सर्वोच्च अदालतले कुनै कसैको दवावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिदैन हामी चुनावको बाटोतर्फ उन्मुख छौं, मुलुकलाई अस्थिरतामा जान दिइने छैन । चुनावको माध्यमबाट होइन, अनुचित बाटोबाट प्रधानमन्त्री हुन खोज्नेहरु चुनावको विरोध गरिरहेका छन्, त्यो सफल हुँदैन ।”

२०७८ वैशाख १७ गते पहिलो चरणको र २७ गते दोस्रो चरणको निर्वाचन हुने दोहोर्याउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “४० वटा जिल्लामा वैशाख १७ गते र ३७ जिल्लामा वैशाख २७ गते चुनाव हुन्छ ।” अबको निर्वाचनमा ‘सूर्य’ चिन्ह आफू नेतृत्वको पार्टीले प्राप्त गर्ने र तोकिएकै मितिमा निर्वाचन हुने प्रष्ट पार्नुभयो । देश, जनता, लोकतन्त्र र सुशासन र विकासलाई मूलमन्त्र मानेर अघि बढ्नुस् उहाँले आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउँदै हाम्रो लक्ष्य र मूल उद्देश्य देश, जनता, लोकतन्त्र, सुशासन र विकास हो उहाँले भन्नुभयो । देश बनाउने अभियानमा आफू नेतृत्वको सरकार र पार्टी रहेकाले सोही अभियानमा लामबद्ध हुन सबैमा आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो उद्देश्य वाद प्रतिवादमा अल्झिने होइन, काम गर्ने हो । सुशासन र विकासको काम गर्ने हो” प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देश विकासको अभियानलाई कसैले रोक्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

“प्रचण्डले पहिले वैद्यलाई साथ लिनुभयो, फेरि डाक्टरलाई छान्नुभयो, अहिले झाँक्री लिनुभएको छ, त्यसले उहाँलाई बचाउन सक्दैन । सिद्धिइसकेको प्रचण्डलाई ल्याएर जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहङ्कार चढ्यो, हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । उहाँको नियति असफलता बाहेक केही होइन ।”

पार्टी एकतामा आउन आव्हान गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रचण्ड खिइने बाटो, सिद्धिने बाटोमा मिसिनुभयो, भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन” । अझै पनि तपाई फर्किन चाहनुहुन्छ भने फर्केर आउनुस्, जनताको भीडमा मिसिनुस् उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button