राजनीति

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य- पूर्वसञ्चार मन्त्री बस्नेत

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनुभएको छ । काठमाडौंको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चको वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो ।

शैक्षिक सङ्घ संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताउनुभयो । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उहाँले अरुलाई सेवा गरे बापत प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरपालिकाका शैक्षिक संस्थालाई आगामी दिनमा अझ सशक्त बनाइने उहाँले बताउनुभयो ।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कारसहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकसिंह भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराल, अरुणोदय माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा पूर्वमन्त्री बस्नेतले चामुण्डाका पूर्वविद्यार्थीसमेत रहनुभएका समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई सम्मान गर्नुभयो । विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनुभएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि कार्यक्रममा सम्मान गरियो ।

यसैबीच मञ्चको पहिलो साधारणसभाले कुमारराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्वयमा क्रमश : रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहनुभएको छ । सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहनुभएको छ ।

सदस्यहरूमा डा सोमबहादुर धिमाल, डा राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.