क्रिकेटखेल

क्यानडा सस्तैमा समेटियो, ८० रनमा अलआउट

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई सस्तैमा समेटेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले क्यानडालाई ८० रनमै समेटेको हो ।

क्यानडालाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीले लामिछानेले ३ विकेट लिए भने कमल ऐरी र अविनाश बोहराले २, २ तथा कुशल मल्लले एक विकेट लिए । क्यानडाका दुई ब्याटस्म्यान रनआउट भए ।

क्यानडालाई खुलेर खेल्न नदिने क्रममा पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।

पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए । छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । रन लिने क्रममा रविन्दरपाल सिंहसँग तालमेल नमिल्दा दुवै ब्याट्सम्यान एकै एण्डमा पुगेका थिए ।

सोही ओभरको छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदा क्यानडा ६ अ‍ोभरभित्र ३७–४ को स्थितिमा पुगेको थियो । दोस्रो विकेटका लागि पठान र धालिवालले ३४ रनको साझेदारी गरेका थिए । पठानले १४ र धालिवालले १८ रन जोडे ।

त्यसयता लगातार ओभरमा विकेट झरिरह्यो । ४.३ ओभरमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको क्यानडाले १०.१ ओभरमा ४८ रन बनाउँदा नवौं विकेट गुमाएको थियो ।

अन्तिम विकेटका लागि डिलोन हेलिगर र सलमान नजरले ३२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । हेलिगरले २२ बलमा सर्बाधिक २४ रनको अविजित पारी खेले । नजरले १० रन जोडे ।

जारी प्रतियोगितामा नेपाल आफ्नो समूहमा शीर्षस्थानमा रहेको छ । नेपालले यसअघि ओमान र फिलिपिन्सलाई ठूलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा रहेको छ । समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button