काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय शृङखलाको अन्तिम खेलमा नेपाललाई स्कटल्याण्डले २१३ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाएर २१२ रन बनाएपछि नेपालले विजयका लागि सामान्य लक्ष्य पाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे ।
पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए ।
पहिलो विकेट गुमाए पनि मुन्सीले आक्रमक ब्याटिङ गरिरहेका थिए । तर १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा कमब्याक गर्यो ।
मुन्सेले दवस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । लगत्तै कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारे ।
कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबिडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए । उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए ।





प्रतिक्रिया राख्नुहोस्