अर्थ

साँढे ११ खर्बको आयात, एक खर्ब ३१ अर्बको निर्यात

सात महिनामा ३८ अर्ब रुपैयाँभन्दा बढीको तरकारी तथा फलफूल मात्र आयात

नेपालको वैदेशिक व्यापारघाटा उच्च दरमा बढिरहेको छ । चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२.७८ प्रतिशत बढी हो । यसअघि पहिलो ६ महिनासम्म आयात ५१.१३ प्रतिशतले बढेको थियो ।

आयात वृद्धि भएसंगै चालु आर्थिक वर्षको पहिलो सात महिनामा निर्यातमा पनि वृद्धि भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएर रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।

निर्यातको प्रतिशत वृद्धि भए पनि आयातको तुलनामा सो रकम न्यून छ । सात महिनामा रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।

मुलुकले चालु आवको सात महिनामा नेपालको रु १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यसै गरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

सोही अवधिमा नेपालमा १४५ देशबाट रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

सात महिनामा नेपालले भारतबाट रु छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै रु पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट सात महिनामा रु एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने रु ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।

यस अवधिमा नेपालले पौने २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदाथ आयात भएको छ । त्यस्तै झण्डै एक खर्ब रुपैयाँ बराबरको फलाम तथा स्टीलको आयात देखिएको छ ।

यस अवधिमा ९८ अर्ब ३४ करोड रुपैयाँ बराबरको यस्तो वस्तु आयात भएको तथ्यांक छ । ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको सवारी साधन आयात हुँदा विद्युतीय सामग्रीको आयात ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ ।

यस अवधिमा २४ अर्ब ५८ करोड रुपैयाँको तरकारी जन्य वस्तुको आयात हुँदा १३ अर्ब ५९ करोड रुपैयाँ बराबरको फलफुल आयात भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.