यसै वर्ष अस्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । विश्वकप छनोटको सेमिफाइनलमा युएईसंग पराजित भएसंगै नेपालको विश्वकपबाट बाहिरिएको हो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार छनोट चरणको पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।
युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । चौथो बलमा आसिफ शेख र पाँचौ बलमा लोकेश बम शून्यमा आउट भएका थिए । दुवैलाई युएईका जुनइद सिद्धिकीले आउट गरे ।
त्यसपछि कुशल भुर्तेल तेस्रो ओभरमा जुनइदकै बलमा ७ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। चौथो विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए।
त्यसपछि दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले नेपालको इनिङ्ग्स उकास्न खोजेका थिए । तर दुवै जना १३औं ओभरको चौथो बल र पाँचौ बलमा आउट भएपछि नेपाल हार उन्मुख भएको थियो ।
दीपेन्द्र ३८ रन र ज्ञानेन्द्र २० रन जोडेर आउट भए । दुवै जनालाई अहमेद राजाले आउट गरेका थिए । त्यसपछि कप्तान सन्दीप लामिछाने ४ रन र विवेककुमार यादव ८ रनमा आउट भए ।
सन्दीप र विवेकलाई पनि १६औं ओभरको चौथो र छैटौं बलमा युएईका अहमेदले नै आउट गरेका थिए । दुवै क्याच आउटको सिकार भए । त्यसपछि कमलसिंह ऐरी ४ रन र जितेन्द्र मुखिया ५ रनमा आउट भए ।
बलिङमा युएईका कप्तान अहमेद राजाले ५ विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए। यस्तै मोहमद सिद्धिकीले ३ विकेट हात पारे ।
नेपाललाई हराएको युएई र अर्को समूहमा ओमानलाई हराउँदै आयरल्याण्ड विश्व अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट भएको छ ।
प्रतिक्रिया राख्नुहोस्