पिकनिक गएकी जसपा सांसद रहमानको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी (जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।
आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस हुनुभएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
जसपाकी केन्द्रीय सदस्यसमेत रहनुभएकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएको थियो ।
सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पु¥याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्