जन सरोकार

हुँदै नभएको काम सम्पन्न भएको प्रतिवेदन बनाएपछि…

सामान्यतया सरकारको कोषबाट खर्च हुने बजेटमा पारदर्शितालाई महत्वका साथ स्थान दिइएको हुन्छ । तर कतिपय अवस्थामा काम नै नभए पनि सम्पन्न भएको प्रतिवेदन बनाएर भ्रष्टाचार हुने गरेको छ ।

हरेक नागरिकले जान्न चाहँदा पनि सरकारी निकायले जानकारी दिनुपर्छ । सोही कार्यका लागि नागरिकले आफ्नो गाँस कटाएर सरकारी कर्मचारीलाई तलब भत्ता खुवाएका हुन्छन् ।

शपथ खाएर कार्यक्षेत्रमा खटिएका सरकारी कर्मचारीले नै गलत कामलाई सही ठहर्याउन खोजेपछि त्यो भन्दा बदमासी अरु के होला ? यस्तै भएको छ बाग्लुङमा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा दायर गरेको मुद्दा हेर्ने हो भने हुँदै नभएको कामसमेतलाई बढाइचढाई गरेर भुक्तानी गरेको पाइएको छ ।

दाबगरा बसपार्क निर्माणमा गर्नुपर्ने काम नगरेको, हुँदै नभएको काम सम्पन्न भएको भनी गरी गरिएको प्रमाणीकरणको अध्ययन गर्दा सबै फर्जी देखिएको आयोगले जनाएको छ ।

आयोगले रु पाँच लाख ९० हजार ५०९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा, कार्यसम्पन्न भएको भनी प्रतिवेदन बनाउने सिडिई दयाराम अधिकारी विरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरिएको छ ।

यस्तै, बाग्लुङ नगरपालिका–४ का वडाअध्यक्ष ध्रुवबहादुर केसी, नगरउपप्रमुख सुरेन्द्र खड्का र इन्जिनियर मनोज शर्मा, बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीति शर्माविरुद्ध पनि बिगो बमोजिमको कारवाहीको माग गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button