जन सरोकार

तीन दशकदेखि कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी

डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन् । सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन् ।

“मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक टार्न नै पुग्दैन”, मानबहादुर बोहराले भन्नुभयो, “कहिलेकाहीँ दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ ।” शिविरमा बस्दै आएको झोपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

“वर्षा हुँदा झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेका छौँ”, तुलाराम बोहराले भन्नुभयो, “गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन ।” पुनःस्थापनको आशमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन् । केही परिवार वनहरा नदीको पुल मुनि बस्दै आएका छन् ।

बैतडीको सिगास गाविस ढुङ्गाड क्षेत्रबाट वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरमा बस्दै आएका छन् । पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए ।

उहाँका बुबालेसमेत सोही बिडोलाई थामे । उहाँलेसमेत केही समय हलिया बसेरै कार्य गरे । सरकारले हलियामुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए । खाली हात परिवार बालबालिकासहित ।

उहाँले भन्नुभयो, “केही समय भारतमा होटलमा भाँडा माँझ्ने कार्य गरे ।” साथीभाई सँगै स्वदेशमै फर्केपछि घरबास नहुँदा नदीको बगरलाई बासस्थान बनाएर बस्नुपरेको उहाँले बताउनुभयो ।

देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा भएको सम्झनासमेत उहाँलाई छैन । उहाँ भन्नुहुन्छ, “बिहान छ बजेदेखि मजदुरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।” “मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन । वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिका सँगै भोकै कैँयाँै रात सुतेको पीडा उहाँको छ । शिविरमा वर्षौंदेखि बस्दै आउनुभएका मथुरा दमाईं पुर्खौंदेखिका हामी सुकुम्बासी रहेको बताउनुहुन्छ । “डडेल्धुरामा गुठीको जग्गाामा बस्थ्यौँ । गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौँ”, भन्नुभयो, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखि गर्दै आएको कार्य गर्दै आएका छौँ ।”

“गुठीको जग्गाबाट बेदखल गरिएपछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “सुकुम्बासीलाई पुनःस्थापन गरी घरजग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौँ । फाराम भरेपछि जग्गा पाउने आश जागेको छ । कहिले जग्गा पाइन्छ । त्यसकै पर्खाइमा छौँ ।”

शिविरमा बस्दै आउनुभएका कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आउनुभएको छ । श्रीमान्का दुवै आँखामा आएको खराबीका कारण उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले उहाँ पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको बताउनुहुन्छ ।

कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो उहाँले भन्नुभयो, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर एक छाकको खाना खर्च जुटाउने गरिएको छ ।”

शिविरमै आश्रय लिएका मोहन सुनार खुट्टाका अपाङ्ग छन् । उहाँकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा आएको छ ।

दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिका लाई साँझ बिहानको खर्च चलाउँदै आएको सुनाउँदै उहाँले भन्नुभयो, “बालबालिकाकै लागि बाँच्नुपरेको छ ।” घरजग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ”, उहाँले आँखाबाट आँसु झार्दै भन्नुहुन्छ ।

शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका ४० बढी बालबालिकासमेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् ।

पुस्तौँदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवारन र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । युवा सबै भारतका काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् ।
थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ । शिविरमा बस्दै आएकासँग आफ्नो जमिन भएको सम्झनासमेत छैन । बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरु अरुको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन् ।

शिविरमा बस्दै आएका परिवार भन्नुहुन्छ, “ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घरखर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था भए जीवन सहज हुन्थ्यो । शिविरमा २४ परिवारको बसोबास छ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button