एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्न माओवादी तयार
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर गठन भएको गठबन्धनलाई जोगाएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ ।

माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसीसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ बिहीबारदेखि नियमित छलफल गर्दै आएका थिए ।
शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पुर्याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताउनुभएको थियो ।
अध्यक्ष प्रचण्डको सोही धारणाअनुसार नै आज बिहान बसेको माओवादीका पूर्वस्थायी समितिका सदस्यको बैठकले सो निर्णय गरेको माओवादी स्रोतले जनाएको छ । निर्णयका बारेमा माओवादीका नेताहरुले औपचारिकरुपमा केही बताएका छैनन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउन तयार देखिएको छ । त्यसका लागि शुक्रबार र शनिबार अन्तर्राष्ट्रिय कानूनका जानकारले प्रयास गरेका थिए ।
लामो समयदेखि एउटै विषयमा मात्रै दल विभक्त हुँदा त्यसले अनावश्यक विवाद बढाएको भन्दै दलहरुले एउटा विकल्प खोज्नुपर्नेमा मतैक्य देखिएका थिए ।
माओवादीका नेता वर्षमान पुनका अनुसार एमसिसीका सम्बन्धमा पार्टीले एउटा निर्णय गरेको छ । उहाँले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विगत छ महिनादेखि लगातार अवरोध गरिरहेको छ ।
अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । सत्तारुढ दलबीच नै एमसिसी सम्झौताका विषयमा समान धारणा बन्न नसक्दा गठबन्धन टुट्ने हो कि भन्ने अनेकन आशङ्का व्याप्त भएका सन्दर्भमा माओवादीले उपयुक्त निर्णय गरेको नेताहरुको दाबी छ ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रमुख प्रतिपक्षीलाई मनाउन अनेकन पटक छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । पूर्ववत् अडानमा एमाले रहँदा संसद्को गतिविधिसमेत अगाडि बढ्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसीसी सम्झौताका सन्दर्भमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया राख्नुहोस्