राजनीति

पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा

मुलुकले संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान प्राप्त गरेपछि विसं २०७४ को आमनिर्वाचन सम्पन्न भई विसं २०७४ फागुन २१ गतेदेखि सङ्घीय संसद्को पहिलो अधिवेशन शुरुआत भएको थियो । तर, तीन वर्षमै संसद विघटन भए पनि सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएपछि अधिवेशनको तयारी भैसकेको छ र ३२ विधेयक प्रक्रियामा रहेका छन् ।

प्रतिनिधिसभा गठन भएको समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधिसभा) मा दर्ता भएका विधेयक ८७ रहेका छन् । तीमध्ये प्रमाणीकरण भएका विधेयक जम्मा ५३ रहेका छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो ।

हाल प्रतिनिधिसभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।

त्यस्तै संसद्को पाँचौं अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । सङ्घीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धी/सम्झौताको सङ्ख्या १४ छ । उक्त छ सन्धी/सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धी/सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् ।

सम्बन्धित खबर

Back to top button