जन सरोकार

नाबालिकालाई यौन शोषण गरेको आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ ।

ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले राससलाई बताउनुभयो ।

प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौँ ल्याएका बालिकालाई उनले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले बेहोर्ने गरेको पनि खुलेको छ ।

सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । “अहिलेसम्म ६ नाबालिकामध्ये दुईजनालाई यौन शोषण गरेको खुलेको छ”, थापाले भन्नुभयो, “अन्यलाई होटलमा लगेर ललाईफकाई गरी राखिएको पाइएको छ ।”

उहाँका अनुसार उनको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छजना बालिकाको उद्धार गरिएको पनि उहाँले बताउनुभयो । सिआइवीले उनीमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।

उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.