जन सरोकार

खरिपाटी क्वारेन्टाइनबाट विदा भएका एक सय ७५ जना कोरोनाबिरुद्धको अभियानका दूत हुनसक्छन्

विश्वभर फैलदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको सन्देश प्रवाह भएसंगै नेपाली जनतामा त्रास बढेको छ । सरकारले कोरोना भित्रिन नदिने उपाय अवलम्बन गरिरहेका बेला आम जनतामा रहेको त्रास हटाउन चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपाली विद्यार्थी उपयुक्त पात्र हुनसक्ने विश्वास गरिएको छ ।

त्यसै भएर सोमाबार दुई हप्ताको क्वारेन्टाइन पूरा गरी आआफ्नो घर गएका उनीहरुलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह समेत गरियो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई सो आग्रह गर्नुभएको हो ।

सरकारले यही फागुन ४ गते चीनको वुहानबाट उद्धार गरी ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई आज क्वारेन्टाइनमा बिदाइ गर्दै कोराना भाइरसको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गर्नुभएको हो । गत शनिबार यहाँ रहेका सबैको नाक र घाँटीको स्वाब सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीलाई १६ दिनपछि आज घर पठाएको हो ।

बिदाइ कार्यक्रममा राज्यमन्त्री रावतले भन्नुभयो, “हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको छ, यो समस्यालाई सहजै हल गर्न सकियो, अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कोरोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्न तपाईहरु आजैदेखि लाग्नु हुनेछ विश्वास लिएका छौं ।”

उहाँले घर फर्किएका सबैको दिर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका नेपालीलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पु¥याएको बताउँदै नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताउनुभयो । क्वारेन्टाइनका विद्यार्थीको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आउनुभएका नेपाली सेनाका क्याप्टेन डा नवीन फँुयालले क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेको रिपोर्ट सार्वजनिक गर्नुभएको थियो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खटिनुभएका डा रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताउनुभयो ।

स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थाका लागि सरकारप्रति आभार व्यक्त गरेका थिए ।

चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई गत फागुन ४ गते उद्धार गरी ल्याइएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । नेपालीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी हिजो आइतबार नै घर फर्किएका थिए ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.