जन सरोकार

मेलम्चीका बाढीपीडितले आश्वासन पाए, आश्रय पाएनन्

मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन् । हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिद्वारा चिलाउनेघारीमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रियामा उनीहरुले यस्तो माग गरेका हुन् ।

बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर र आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन् ।

हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै इचोक घर भई गणेशबगरमा बस्नुभएकी रामप्रित लामाले आफ्नो भएजति सबै सम्पत्ती बाढीले बगाएको भन्दै स्थानीय सरकारले चासो दिए पनि प्रदेश र केन्द्र सरकारले चासो कम दिएको गुनासो गर्नुभयो ।

उहाँले आफूहरु मेलम्चीको पानी काठमाडाैँ पठाउन सदैव तयार रहेको र मेलम्ची खानेपानीले पनि सरकारसँग समन्वय गरी बाढीपीडितको चित्त बुझाउनुपर्ने बताउनुभयो ।

त्यस्तै स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्यामपसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछाने लगायतले बाढीपीडित राजनीतिक रुपमा विभाजित नभइ एकजुट भएर विद्यालय, बाकीँ रहेका घरखेत संरक्षण गर्न र स्थायी आवास पुनःनिमाणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रुपमा रु ३० करोड र सडकको लागि २५ करोड बजेट विनियोजन भइसकेको भन्दै यथाशीघ्र सम्झौता गरी बाकीँ बस्ती संरक्षण र बाटोको काम सुरु गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

उहाँले वैकल्पिक बाटोको लागि पनि थप बजेट विनियोजन भएको जनाउँदै मेलम्ची अम्बाथान सडकको लागि रु ७५ करोड प्रस्ताव पेश गरिएको पनि जानकारी दिनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बाढी प्रभावितले रु पाँच लाखले घर निर्माण गर्न सम्भव नभएको जनाउँदै रकम थप गर्न आग्रह गर्नुभयो ।

मेलम्ची बाढीबाट हेलम्बु गाउँपालिकाको मात्रै ३०८ घरधुरी लाभग्राही कायम भएको ,चाँडैँ सम्झौता गरी पुनःनिर्माण सुरु गरिने र बाढी प्रभावित १२५ घरधुरीको अस्थायी आवास निर्माण भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button