कर्पोरेट/पर्यटन

पर्यटक आउने आशमा बागलुङका घरबास

भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो । पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे । कतिले सेवा नै रोके । कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे । महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे ।

ग्रामीण पर्यटनलाई टेवा दिन खुलेका घरबास पूर्णरुपमा चलायमान हुन नपाउँदै थलिन पुगे । लगानी निरर्थक हुने चिन्ताले सञ्चालकलाई पिरोल्यो । राज्यले दिएको अनुदान पनि खेर जाने स्थिति बन्यो । महामारी लम्बिँदै जाँदा घरबासको भविष्यलाई लिएर निरास बनेका पर्यटन व्यवसायी अब भने केही आशावादी देखिएका छन् ।

कोभिड–१९ को सङ्क्रमण मत्थर हुँदै गएको छ । जनजीवन सामान्य छ । पर्यटन गतिविधि बढ्न थालेका छन् । जसको सकारात्मक प्रभाव घरबास व्यवसायमा पनि देखिने पक्का छ । गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित ‘सिद्धथान सामुदायिक घरबास’का सञ्चालक छमबहादुर काउचाले आफूहरु पाहुनाको सेवामा आतुर रहेको बताउनुभयो ।

“कोरोनाका कारण यसअघि सोचे जस्तो गर्न सकिएन, अब अवस्था सामान्य बनेकाले पर्यटक आउँछन् भन्ने आशा छ”, उहाँले भन्नुभयो । सो घरबास सञ्चालनमा आएकै वर्ष महामारी सुरु भएपछि व्यवसायी मारमा परेका थिए । झण्डै दुई वर्षसम्म व्यवसाय शिथिल बन्न पुग्यो । सिद्धथानका सात घरमा घरबास सेवा छ ।

एकैपटकमा ४० जनासम्म पाहुना राख्नसक्ने तिनको क्षमता छ । पारिवारिक वातावरण, खानामा स्थानीय परिकार, मौलिक संस्कृति, रहनसहन र पर्यटकीय गन्तव्यस्थलसम्मको पदयात्रा त्यहाँको आकर्षण हो । “भान्छामा ढिँडो, आटोलगायत गाउँकै उत्पादन पाक्छ, पर्यटक लोभ्याउन सालैजो, झ्याउरे जस्ता संस्कृति पनि देखाउँछौँ”, सञ्चालक काउचाले भन्नुभयो ।

मासुजन्य परिकारमा पनि स्थानीय कुखुरा र बोकाको मासु प्रयोग हुन्छ । सिद्धथान पुगेका बेला पर्यटकले घुम्टेको लेक, पञ्चधारा, काभ्रे गाउँ आदि घुमफिर गर्न सक्छन् । त्यहाँबाट दुई÷अढाइ घण्टाको पदयात्रामा घुम्टे उक्लन सकिन्छ । घुम्टे गण्डकी प्रदेशका १०० गन्तव्यमध्येमा सूचिकृत पर्यटकीयस्थल हो ।

पर्यटकले इच्छ्याएमा पाण्डवखानीको प्रख्यात सती घाटु पनि देखाउन सकिने घरबास सञ्चालक बताउँछन् । घरबासको पूर्वाधार बनाउँदा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले रु १० लाख अनुदानसमेत दिएको थियो । सदरमुकाम बागलुङ बजारदेखि ६० किमी मोटर यात्रामा सिद्धथान घरबास पुग्न सकिन्छ । गलकोटकै तोरीखोला सामुदायिक घरबास पनि पर्यटकको पखाईमा छ । वडा नं २ नरेठाँटीस्थित उक्त घरबास पनि महामारीका बेला सुनसान बन्यो ।

गत महिना नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले दुईदिने पत्रकारिता तालिम त्यहीँ चलाउँदा दुई वर्षपछि बाहिरी पाहुना देख्न पाएको अनुभव घरबास सञ्चालकले सुनाए । त्यसबेला जिल्लाभरका क्रियाशील पत्रकार तोरीखोलामा भेला भएका थिए । घरबास सञ्चालक समितिका अध्यक्ष कुमार पुन महामारी घटेर अवस्था सहज हुँदा पर्यटक भित्रनेमा ढुक्क हुनुहुन्छ ।

“सधैँ यही अवस्था त पक्कै रहन्न, सबै क्षेत्र खुलेपछि पर्यटकको आउजाउ पनि बढ्छ, त्यसबाट गाउँका घरबासलाई पनि फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “केही समय व्यवसाय सुस्ताए पनि फेरि जाग्नेमा हामी विश्वस्त छौँ ।” तोरीखोलाका ११ घरले घरबास सेवा दिन्छन् । एक रातमा ६० जनासम्म पाहुना राख्न सक्छन् ।

तोरीखोला घरबासको स्वागत तथा सत्कार आफ्नै खाले छ । समूहमा जाने पाहुनालाई गाउँलेले सेतो अक्षताको टीका र माला पहिराउँछन् । भजनर्कीतनसहित सामुदायिक भवनमा पु¥याएर ‘सगुन’ चखाउने गर्छन् । सामुदायिक भवन परिसरमा मौलिक नाचगानसहित स्वागत ग्रहण गरेपछि बल्ल पाहुना घरबासमा बाँडिन्छन् । सगुनमा कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला, गेँडागुडी आदिको परिकार हुन्छ ।

विसं २०७६ कात्तिकदेखि सञ्चालनमा आएको त्यस घरबासप्रति पर्यटक आकर्षित भइरहेका बेला सोही वर्षको अन्त्यतिरबाट सुरु भएको कोरोना महामारीले व्यवसाय थलिन पुगेको थियो । “फाट्टफुट्ट पर्यटक आउनेक्रम सुरु भएको छ, अब विस्तारै ‘फ्लो’ बढ्दै जाला”, अध्यक्ष पुनले भन्नुभयो, “हामी त पूर्ण क्षमतामा पाहुनाको सत्कार गर्न तयार छौँ, यसबीचमा घरबासको क्षमता पनि केही विस्तार भएको छ ।” सुरुमा पाँच घरमा मात्र घरबास सेवा रहेकामा अहिले ११ घरमा पुगेको छ ।

घरबास सञ्चालकले पर्यटकलाई गाउँको मौलिकता र पहिचानमा रमाउने वातावरण बनाएका छन् । कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य गाउँ हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ । खानामा मकैको आटो, कोदोको ढिँडो, रोटी जस्ता परिकार बन्ने गरेको घरबास सञ्चालक सीता पुनले बताउनुभयो ।

गाउँमै उत्पादित माछामासु, तरकारी, गेँडागुडी, आलु आदि भान्छामा पाक्छ । सञ्चालक पुनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको रु एक हजार २०० तिनुपर्छ । पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ । मगर समुदायमा प्रचलित कला, संस्कृति पनि त्यहाँका आकर्षण हुन् । सोरठी, कौडा, थाली नाच, भजन, झ्यारेलगायतले पर्यटकलाई लोभ्याउँछ ।

घरबासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ । पुष्पलाल लोकमार्ग नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ । सदरमुकामदेखि ४० किमी सडक यात्रामा त्यहाँ पुग्न सकिन्छ । यी मात्रै होइन, जिल्लाका ३० भन्दाबढी घरबासका सञ्चालक व्यवसाय पुनःउत्थानको आशमा छन् ।

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कारबाहेकका घरबास पछिल्लो दुई÷तीन वर्षभित्रमा खुलेका हुन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएपछि त्यस ताका घरबास व्यवसायमा आकर्षण बढेको थियो । सरकारले अनुदानसमेत दिन थालेपछि व्यवसायीहरु उत्साहित थिए ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले घरबासलाई व्यवस्थापकीय पक्षबाट थप चुस्त र पर्यटनमैत्री बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले घरबासको पूर्वाधार र प्रवद्र्धनमा लगानी बढाउनुपर्छ, राज्यले पनि व्यवसायीलाई अनुदानसहितका सुविधा र सहुलियत दिनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button