डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरलरुपमा सबै नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
आइतबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा उहाँले भन्नुभयो, “विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को अवधारणामा आगाडि बढिरहेको सन्दर्भमा हामीले डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनसक्नुपर्छ । दूरसञ्चार सेवालाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै सबै नागरिकले आधारभूत दूरसञ्चार सेवा सहजै प्राप्त गर्नसक्ने वातावरणतर्फ हामीले ढिला गर्न हुँदैन ।” उहाँले ग्रामीण भेगमा सहज ढङ्गले सेवा प्राप्त गर्ने परिस्थिति निर्माण गर्दै भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै दूरसञ्चार प्राधिकरणलाई बधाई दिनुभयो । “प्रविधिको नवीनता र गतिशीलताले गर्दा प्रविधिको दयारा बढेकाले नियमन चुनौती पूर्ण छ”, उहाँले भन्नुभयो, “त्यसैले क्षमता र गुणस्तरीयतामा विशेष ध्यान पुर्याउनुको विकल्प छैन ।”
उहाँले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई दूरसञ्चार क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्ने भनाइ राख्नुभयो । प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणले अहम् भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडपश्चात् पछिल्ला वर्षमा मोबाइल इन्टरनेटको प्रयोगकर्ता बढिरहनु सेवा प्रदायकका लागि अवसर हो । हाल बजारमा देखिएका चुनौतीलाई के कसरी सम्बोधन गर्ने विषयमा हामीले सरकारसँग समन्वय गरी आवश्यक एकदम चाल्ने छौँ ।”
सो अवसरमा २० वर्ष सेवा गरेका कर्मचारी निर्देशकत्रय अर्जुन घिमिरे, मीनप्रसाद अर्याल र विजयकुमार रायलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरियो ।




प्रतिक्रिया राख्नुहोस्